

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए ।भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’
भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष नेपाल आफूसँग परामर्श गरेरै प्रतिपक्ष दलहरुको बैठकमा गएको बताएका छन् ।