

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् । जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन्। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
बैठकले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमश: नायव महान्याधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिस्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको पनि गरेको छ ।
बैठकले वन दोस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गरेको छ । यसैगरी, तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको शर्माले बताइन् ।