

काठमाडौं । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता र कार्यदल सदस्य सहभागी छन् । बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नुअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा बसेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकबीच छलफल भएको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानविन समितिको दायरामा लामिछानेलाई ल्याउनुपर्ने अडान राख्दै आएको छ ।
सत्तापक्ष र प्रतिपक्षीबीच कार्यक्षेत्रका विषयमा कुरा नमिल्दा समिति गठन हुन सकेको छैन । कांग्रेसले समिति गठनलाई बटमलाइन बनाउँदै सदन सञ्चालनमा अवरोध गर्दै आएको छ । संघीय संसददेखि प्रदेशसभासम्म कांग्रेसले सहकारी छानविनको माग गर्दै अवरोध गर्दै आएको छ ।