कम्युनिष्टसँग मिल्नु हुँदैन भन्‍ने बल्ल थाहा पाएँ : देउवा

कम्युनिष्टसँग मिल्नु हुँदैन भन्‍ने बल्ल थाहा पाएँ : देउवा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।

३६सौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आइतबार आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध भएको उल्लेख गरे । सभापति देउवाले कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाएको बताए ।

आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेकाले विधेयक पनि त्यसैअनुसार आउनुपर्ने माग गरे ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीका विचारबाट पार्टी विचलित नभएको बताउँदै भने, ‘बिपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता काँग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ ।’

ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए । महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसाथ गरे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ बताए ।