विदुर । तत्कालिन सशस्त्र विद्रोहरत नेकपा माओवादीले वनाएको कुमरी गाउँ जनसरकारका उपप्रमुख एवं नयाँ शक्ति पार्टी नुवाकोटका नेता वेलकोटगढी नगरपालिका वडा नं.१ आरुखर्कका पूर्ण गजुरेल आईतवारवाट काँग्रेस प्रवेश गरेका छन् । गजुरेलसंगै गत स्थानीय निर्वाचनमा वेलकोटगढी ३ मा नयाँशक्तिवाट वडाध्यक्षका प्रत्याशी रहेका गोकूल पुडासैनीपनि काँग्रेसमा आवद्ध भएका छन् ।
नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद सदस्य, जिल्ला सदस्य र निर्माण व्यवसायी संघको ३ नं.प्रदेश संयोजक समेत रहेका गजुरेल र नयाँशक्तिका स्थानीय नेता पुडासैनीले आईतवार विहान आरुखर्कमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नं.१ का उमेदवार अर्जुननरसिंह केसी र जिल्ला सभापति एवं प्रदेशसभा १ का उमेदवार जगदीश्वरनरसिंह केसकिो हातवाट पार्टीको सदस्यता लिए ।
राजनीतिक जीवनको सुरुवात देखिनै कम्युनिष्ट विचारधारावाट प्रभावित गजुरेल २०६४ सालमा नुवाकोट क्षेत्र नं. १ वाट माओवादी नेतृ विमला सुवेदीले विजय प्राप्त गर्दा विजय अभियानको प्रमुख सारथी थए । केही समय मोहन वैद्य नेतृत्वको माओवादीमा संलग्न रहँदै पछिल्लो समय नयाँ शक्तिमा आवद्ध गजुरेल नुवाकोटको वेलकोटगढी सहित समग्र जिल्लाको विकासमा अर्जुननरसिंह केसी र काँग्रेसको योगदान र विकास प्रयासवाट प्रभावित भई काँग्रेस प्रवेश गरेको वताउँछन् ।