सरकार बर्बर दमनमा उत्रियो : उपसभापति निधि

सरकार बर्बर दमनमा उत्रियो : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मेडिकल शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोबिन्द केसीको समर्थनमा भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा सरकारी हस्तक्षेपप्रति निन्दा गर्दै यस किसिमको बर्बर दमनमा नउत्रिन सरकारलाई चेतावनी दिनु भएको छ ।
नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित बिस्तारित बैठक तथा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको बताउनु भयो । केसीको अनसनप्रति सरकारका जिम्मेवार मन्त्रीका सार्बजनिक टिप्पणीले उहाँको मागप्रति सरकार कत्ति पनि जिम्मेवार नभएको उहाँको भनाई थियो ।
चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले उठाएका मागको देउवा सरकारका पालामा सबैसंग सहमति गरेर समाधान भइसकेको बिषयलाई पुनः खोतलेर सरकारले गैरजिम्मेवार काम गरेको कांग्रेस उपसभापति निधिले उल्लेख गर्नुभयो । ‘सहमति भइसकेको बिषयलाई तोडमोड गरी बेइमानीपूर्बक सरकारले चिकित्सा शिक्षा बिधेयक संसदमा दर्ता गराएर केही व्यक्तिको स्वार्थमा काम गर्न खोजेको छ’ निधिले भन्नुभयो ।
कांग्रेस उपसभापति निधिले नेपाली कांग्रेसको युरोप जनसम्पर्क समितिको अधिबेशन छिटोभन्दा छिटो गरेर आपसी सहमति कायम गर्न भेलाका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफू काठमाडौं फर्केपछि शीर्ष नेताहरुसंग यसबारे छलफल गर्ने जानकारी गराउनु भयो ।