महामानव बिपी कोइरालाको ३६औँ स्मृति दिवस आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइयो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी राजनीतिमा समाजवादका प्रणेताका रूपमा चिनिन्छन् भने साहित्यमा फ्रायडवादी मनोविज्ञानका अनुशरकका रूपमा उनलाई चिनिन्छ ।
राणशासनदेखि पञ्चायतसम्मको यातना सहेर नेपालमा प्रजातन्त्र ल्याउनका लागि सबैभन्दा ठूलो योगदान गरेका विपीको साहित्यमा भएको प्रतिभा देखे। जोकोही पनि अचम्म्मा पर्छ । नेपाली आख्यान विधाका शिखर व्यक्तित्वका रूपमा कोइराला नेपाली साहित्यमा अटल छन् ।
राजनीतिकै कारण जेलमा बसेर कृति रचना गरेका बिपीका बिपीका साहित्यि कृतिहरूमा राजनीतिक गन्ध कत्ति पनि नदेखिनु पनि उदेक लाग्दो विषय नै हो ।
‘म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ’ यो भनाइ स्वयं बिपी कोइरालाको हो । उनको भनाइ जस्तै उनका कृतिहरूले नेपाली समाजमा अराजकता त होइन एकखाले तरंग भने अवश्य पनि ल्याएको छ । बिपीले आफ्नो एक अभिनन्दन समारोहमा साहित्यमा सम्राट पनि नांगो हुन्छ भनेर चर्चा गरेका थिए । उपन्यास, कथा, आत्मवृतान्तलगायतमा उनले कलम चलाएका थिए । कोइरालाका उपन्यासहरू ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ एकसे एक लोकप्रिय छन् ।
त्यसैगरी, दोषी चश्मा र श्वेतभैरवी कथासंग्रह प्रकाशित छन् । ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ भने उनको जीवनीमूलक कृति हुन् । उनको निधनपछि उनले बोलेका आधारमा तयार पारिएको ‘आत्मवृत्तान्त’ले नेपाली राजनीतिका क्रममा उनले भोगेका आरोह–अवरोहलाई समेटेको छ ।