बानेश्वरमा प्रहरी र तरुण दलबीच झडप, तरुण दल अध्यक्षसहित दर्जनौ घाइते (फोटो फिचर)

बानेश्वरमा प्रहरी र तरुण दलबीच झडप, तरुण दल अध्यक्षसहित दर्जनौ घाइते (फोटो फिचर)

काठमाडौँ, ५ साउन । चिकित्सा शिक्षा सुधारका मागहरु रोखेर २२ दिन देखि अनशनरत डा. गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ ।

चिकित्सक डा. केसीले उठाएका मागको सम्बोधन र उनको जीवन रक्षाको माग गर्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले काठमाडौंको बानेश्वरमा अश्रुग्यास र लाठीचार्ज गरेको हो । प्रहरीले अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्ज गर्दा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायत प्रदर्शनकारी घाइते भएका छन् ।

समाचार संकलनकाक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पनि घाइते भएका छन् । घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । तरुण दलले आज माइतीघर मण्डलामा विरोध र्‍याली आयोजना गरेको थियो ।

यसअघि आज नै काठमाडौं सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको र्यालीमा पनि प्रहरीले हस्तक्षेप गरेको छ । डा. केसीको जीवन रक्षाको माग गर्दै अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी थिए । र्‌यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, मानवअधिकारकर्मी कृष्ण पहाडी, अभिनेत्री मनिषा कोइरालालगायत सहभागी थिए । नागरिक अगुवा कृष्ण पहाडीले भाषण गरिरहेको बेला भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

यसैबीच नेपाल तरुण दलले शान्तपूर्ण प्रर्दशनमा प्रहरीले दमन गरेको बताएको छ। अाज राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि निधेषाज्ञा तोड्न खोज्दा तरुण दल अध्यक्ष जीतजंग बस्नेतसहित तरुण कार्यकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले ‘अधिनायकबादी, तानासाही सरकारले अन्धाधुन्ध लाठी र अश्रुग्यास प्रहार’ गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। प्रहरीले हानेको लाठीले अध्यक्ष बस्नेतसहित दर्जनबढी तरुण कार्यकर्ता घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारको दमन र हस्तक्षेपबाट बिचलित नहुने चेतावनी दिँदै तरुण दलले सरकारको रबैयाको विरोधमा आइतबार ७७ जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्ने बताएको छ।

प्रहरी र तरुण दलका कार्यकर्ताबीच झडप हुँदा शनिबार दर्जन बढी प्रहरी र तरुण दलका कार्यकर्ता घाइते भएका छन्। कांग्रेसले ओली सरकारविरुद्ध देशब्यापी आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै तरुण दल सडकमा उत्रिएको थियो।

प्रहरीसँगको झडपमा घाइते भएका तरुण दल बस्नेतसहित अन्य कार्यकर्ताहरुलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि सिभिल अस्पताल पुगेका छन्।

घाइतेलाई भेट्दै सभापति देउवाले शान्तिपूर्ण आन्दोलनमा अमानविय र अपराधिक किसिमले आफ्ना कार्यकर्तामाथि सरकारले दमन गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री देउवाले घटनाको घोर भर्त्सना गर्दै काठमाडौंका सबै निषेधित क्षेत्र हटाउनु पर्ने बताएका छन् ।

घाइते तरुण दलका कार्यकर्ताहरुसँग भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँड, रमेश लेखक, एनपी साउद, उदयशमशेर राणालगायत पनि सिभिल अस्पताल पुगेका छन्। घटनामा कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य र पूर्वमन्त्री वीरबहादुर बलायर पनि घाइते भएका थिए।