

काठमाडौं । गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको फिल्म बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बताइएको छ । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।
“सिनेमाका लागि धेरै विषय थिए । तर हरेक साहित्यकार तथा लेखकले पहिला आफ्नै कथा भन्छ रे । मलाई पनि यो भन्दा पनि कमर्सियल विषयमा सिनेमा भनौँ न भन्ने साथीहरू थुप्रै हुनुहुन्थ्यो,” आइतबार सिनेमाको टाइटल र कास्ट एन्ड क्रू सार्वजनिक गर्दै प्रकाशले भने, “पहिला आफ्नै जीवनको कथा भनौँ, अनि बाँकी कथा भनौँला भनेर मैले भोगेकै कथा सिनेमाका लागि लेखेँ ।”
चलचित्रको निर्देशन पनि प्रकाश सपुत आफैँले गर्दै छन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् । प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । उनले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् । आफ्नो फिल्म अघि यस फिल्मको छायांकन सक्ने उनले बताए ।