राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातकः काङ्ग्रेस प्रवक्ता डा. महत

राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातकः काङ्ग्रेस प्रवक्ता डा. महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. महतले काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएकाे छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयाे – ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

उहाँले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निष्तेज बनाउनुपर्ने धारणा राख्नुभयो । अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुङ्गिने उहाँले बताउनुभयो । उहाँले चाडै विकास र स्थिरताप्रति समर्पित सरकार आउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयाे – ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ । र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राख्नुभयो । उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राख्नुभयो ।