प्रभावकारी बन्दै क्याप नेपालकोे घुम्ति शिविर

प्रभावकारी बन्दै क्याप नेपालकोे घुम्ति शिविर

काठमाडौं । चेतना अभिबृद्धि केन्द्र (क्याप) नेपालले राजधानीको पर्यटकीय केन्द्र ठमेलमा पाँच दिने घुम्ति शिविर सम्पन्न गरेको छ । काठमाडौं लगायतका जिल्लाहरुमा चेतनामुलक कार्यक्रमहरुसंगै परामर्श शिविरहरु सञ्चालन गर्दै आएको क्याप नेपालले ठमेलका मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा किशोरीहरुका लागि घुम्ति मनोसामाजिक परामर्श शिविर कार्यक्रम सञ्चालन गरेको थियो ।

२०७५ असार २५ देखि २९ गतेसम्म होटल काठमाडौ ईनमा सञ्चालन गरिएको घुम्ति शिविरमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला तथा किशोरीहरुका निमित्त मनोसामाजिक परामर्श, स्वास्थ्य परिक्षण, कानूनी परामर्शका साथै विभिन्न विषयहरुमा जानकारी र सुचना दिएको क्याप नेपालकी वरिष्ठ कार्यक्रम अधिकृत सविता मोक्तानले जानकारी दिईन् ।

५ दिन लगातार सञ्चालित शिविरमा ठमेलमा रहेका मसाज पार्लर, स्पा, दोहोरी, डान्स रेष्टुरेन्टहरुमा कार्यरत करिब एक सय जना महिला तथा किशोरीहरु सहभागी भएका थिए । सहभागीहरु मध्ये धेरैमा सानो पेट दुख्ने, ढाँड दुख्ने, ग्याँष्ट्रिक, पाठेघर सम्बन्धी समस्या भेटिएको मनोपरामर्शविद् सनम पौडेलले जानकारी दिइन् । साथै सहभागीहरुमा आत्मबलको कमि, छटपटाहट, डिप्रेशनका लक्षणजस्ता मनोसामाजिक सम्बन्धी समस्याहरु पाइएको पौडेलले बताइन् ।

क्याप नेपालले विगतका वर्षहरुदेखिनै आयोजना गर्दै आएको यस प्रकारका कार्यक्रमहरुले पीडितहरुलाई जीवन परिवर्तनकालागी उत्प्रेरणा प्रदान गर्न प्रभावकारी रहेकाे एक सहभागीले बताएकी छिन् । शिविरमा अर्की एक सहभागीले क्याप नेपालको शिविरबाट जीवन सहजरुपमा जीउने धेरै टिप्स पाएको बताइन् । स्वास्थ्य परिक्षणदेखि मनोपरामर्शको समेत सेवा दिने यसप्रकारका कार्यक्रमहरु ठमेल जस्तै अन्य ठाँउमा पनि व्यापक बनाउनुपर्ने उनले सुझाएकी छिन् ।

क्याप नेपालले सामाजिक, साँस्कृतिक तथा आर्थीक बिभेदका कारण उब्जने लैगिंकतामा आधारित हिंसा, मानव बेचबिखन तथा व्यवसायिक यौन दुव्र्यवहार अन्त्य गर्नका लागि महिला, किशोरी तथा बालिकाहरुको विकास, सशक्तिकरण तथा सवलिकरण, र अधिकारका लागि पैरवी गर्दै आएको संस्थाका कार्यकारी निर्देशक भुपाल ढकाल जानकारी दिए ।