

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बस्दै नबसेर संसद् बैठक स्थगन गरिएकामा असन्तोष व्यक्त गर्नुभएको छ ।
बिशेष कारणवश भन्दै प्रतिनिधिसभाको संघीय संसद् भवनबाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएकोमा देउवाले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताउनुभयो । सभापति देउवाले डा. केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । यसअघिको सरकारले संसदमा पेस गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने देउवाको जोडदार माग छ ।