-बिमन लिम्बू-
चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग राखी शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आमरण अनशन गरेको २० दिन पुगेको छ । डा. केसीले चिकित्सा क्षेत्रको माफियातन्त्र विरुद्ध अनशन बसेको यो १५ औँ पटक हो ।
विगतका अनशन कारण चिकित्सा क्षेत्रमा केही सुधार काम भएका छन् । नेपालका ठूला शहरमा मात्रै होईन दुर्गम ग्रामीण क्षेत्रमा पनि चिकित्सा शास्त्रको पढाइ होओस्, सबै ठाउँमा उपचार सेवा पुगोस् र दूर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीले डाक्टरी पढ्न पाउन भन्ने नै डा गोविन्द केसीको मुख्य माग हो । यता मेडिकल माफियासँग मिलोमतो र साँठगाँठ गरेको वर्तमान सरकारले डा गोविन्द केसीका मागलाई बेवास्ता गरिरहेको छ । सत्याग्रही डा. गोविन्द केसीको जीवन बचाउ अभियान अन्तर्गत नेपाली काँग्रेसले साउन ३ गतेदेखि केन्द्रिय संसद र प्रदेश संसद अवरुद्ध गर्ने उद्घाेष गरेको छ ।
सबै डाक्टर र चिकित्सा क्षेत्रका कर्मचारीहरुले काम रोकेर विरोधमा उत्रिने जनाएका छन् । डा. केसीको स्वास्थ्य अवस्था कमजाेर भै जीवन खतरामा परेको छ । सत्यको पक्षमा पटक पटक आवाज उठाउने डा. केसी समाजका एक सशक्त्त प्रतिनिधि पात्र हुन् । डा. केसीको जीवन बचाउनु आज सबैको कर्तव्य हो । यतिखेर बहुमतको ठूलो दम्भ बोकेको सरकार लचिलो बन्नुपर्छ । जनताका जायज माग र भावनालाई सरकारले बुझेन भने देशमा ठूलो संकट आउन सक्छ समयमै सत्याग्रहीको जीवन रक्षा गर्नेतर्फ सबैको ध्यान पुगोस् ।