

काठमाडाैँ, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल नियुक्त भएका छन् । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम प्रा. दाहाललाई सो पदमा नियुक्त गरेका हुन् ।
विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरत रूपमा सक्रिय प्रा. दाहाल विगत ३४ वर्षदेखि वाल्मीकि क्याम्पसमा राजनीति शास्त्र विषयको प्राध्यापनमा संलग्न छन् । वरिष्ठ पत्रकार दाहाल हरेकपल डट कमका प्रधानसम्पादक हुन् । वि.सं. २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् ।
दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएरसमेत काम गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।