मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको भन्दै जसपा असन्तुष्ट, लुम्बिनी सरकारबाट बाहिरिने चेतावनी

मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको भन्दै जसपा असन्तुष्ट, लुम्बिनी सरकारबाट बाहिरिने चेतावनी

बुटवल । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी सरकारबाट बाहिरिने चेतावनी दिएको छ। मुख्यमन्त्री जोखबहादुर महराले लिखित सहमति कार्यान्वयन नगरेको भन्दै जसपाले सरकार छोड्ने चेतावनी दिएको हो ।

बिहीबार मुख्यमन्त्री महराले सरकार विस्तार गरेका थिए । दुई मन्त्री दिने सहमति कार्यान्वयन नगरेर मुख्यमन्त्रीले एउटा मात्रै मन्त्री बनाएको जसपाको आरोप छ । जसपाले आजै बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गर्ने चेतावनी दिएको छ ।

जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिने निर्णय गर्नुपर्ने बाध्यता आएको स्पष्ट पारे ।

‘मुख्यमन्त्रीले हामीलाई अपमान गर्नुभयो । लिखित सहमति कार्यान्वयन गर्नुभएन,; उनले भने, ‘एक सिट भएको एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई पनि मन्त्री दिनुभयो । हामीसँग तीन सांसद छन् । तर एक जना मात्रै मन्त्री दिनुभयो ।’

मुख्मयन्त्री महराले जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाएका थिए । उनले केन्द्रको निर्देशन अनुसार आफूहरु अगाडि बढ्ने भन्दै लुम्बिनी प्रदेशको विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराइसकेको बताए । उनले भने, ‘अब माथिबाट जे निर्देशन आउँछ । त्यो यहाँ आउँछ । उहाँ (उपेन्द्र यादव) ले कुरा गर्छु भन्नुभएको छ ।’