प्रधानमन्त्रीलाई सर्वसाधारणले बुझाए मागपत्र

प्रधानमन्त्रीलाई सर्वसाधारणले बुझाए मागपत्र

काठमाडाैँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विभिन्न संघ संस्थाले मागपत्र बुझाएका छन् । नेकपाको पार्टी कार्यालयमा एयर बंगालको विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्त, पूर्वजनमुक्ति सेना, द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार, सामाजिक परिचालक संघ, मुस्कान सेना, जिफन्टलगायत संघसंस्थाले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका हुन् ।

पार्टी कार्यकर्ता र सर्वसारधणसँग भेटघाट गर्न प्रधानमन्त्री ओलीले महिनाको पहिलो दिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम तय गरेका छन् । कार्यक्रम अनुसार भेटघाटको पहिलो दिन आज पार्टी कार्यालय पुगेका बेला उल्लेखित पीडितजनले मागपत्र प्रस्तुत गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको रहेको बताए । सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको उनको भनाई थियो ।

संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन भन्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित नहुने बताए ।

जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै उनले सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ भनने अभिव्यक्ति दिए ।

दुई÷चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, चुनावभन्दा अघिका सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ, निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन÷महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधानविपरीत कार्य गरेको छ ।