

काठमाडाैं, ३० असार । प्रधानमन्त्री निवास बालुवाटार अगाडिबाट ३१ जना अधिकारकर्मीहरु गिरफ्तार भएका छन् । मानव अधिकार तथा शान्ति समाज लगायतका अधिकारकर्मीहरुले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाका क्रममा प्रहरीले अधिकारकर्मी कृष्ण पहाडी सहित ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।
समाजले सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध धर्नाकाे कार्यक्रम राखेकाे थियाे ।
शनिबार दिउँसो १ बजे आयोजित धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरु जगन्नाथ पुडासैनी, बाबुराम न्यौपाने, अञ्जना अर्याल, विपी पौडेल सदस्यहरु सनत आचार्य, सरस्वती ढकाल, दिवाकर सिलवाल, गोकर्णमणी पुडासैनी, ईश्वर पुडासैनी, गोकुल पुडासैनी, सुरज बोहरा, रेजीना राई, किरण ढकाल, भगवान पुडासैनी, दुर्गा राना पुडासैनी, टिकाराम पौडेल, टंक गैरे, रमेश बराल, अर्जुन लामिछाने, दिपक पुडासैनी र प्रमोद पौडेलसहित ३१ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।
धर्नामा सहभागीहरुले ‘सत्याग्रही भोकै छन्: नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहार:स्वन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । शान्ति समाजले पर्सि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि धर्ना दिने पनि बताएको छ ।