

रुस, ३० असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज तेस्रो स्थानका लागि आज बेल्जियम र इङल्यान्ड बीच प्रतिस्पर्धा हुदैछ । सेमिफाइनलबाट फाइनल पुग्न नसकेका दुई टिमबिच तेस्रो स्थानका लागि प्ले–अफ हुन लागेको हो ।
आजको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सेन्ट पिटर्सबर्गमा हुनेछ । ३२ वर्षपछि विश्वकपको सेमीफाइनल पुगेको बेल्जियम फ्रान्स संग एक शुन्य गोलले पराजित भएको थियो ।
सामुएल उमटिटीले गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बनेको थियो । यस्तै सुरुमा अग्रता लिएर पनि युवा खेलाडीले भरिएको इंग्ल्याण्ड अर्को सेमिफाइनलमा क्रोएसियासँग पराजित भएको हो ।
इङल्यान्डको विश्वकपमा पछिल्लो २८ वर्षमा चौथो स्थान हात पार्नु अहिले सम्मको उच्च सफलता हो । यस्तै बेल्जियमले पनि अन्तिम पटक १९८६ मा सेमीफाइनल पुग्दा चौथो स्थाननै हात पारेको थियो । त्यसैले दुवै टोलीको लक्ष्य तेस्रो स्थान प्राप्त गर्नु हुनेछ ।