

काठमाडौं। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि हाल प्रमुख प्रतिपक्ष दल रहेको नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर अघि बढ्न आग्रह गरे ।‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरुलाई थाहा नै छ । तर अहिले यही कुरालाई मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ’ देउवाले भने, ‘सबै पार्टीका साथीहरू एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गरी देशभर पार्टीलाई जिताउनु आवश्यक छ ।’
शंखरापुर अत्यन्तै ऐतिहासिक ठाउँ भएको बताउँदै सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरूलाई समझदारीका साथ काम गर्नुपर्ने बताए ।सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए ।
देउवाले भने, ‘म सबै साथीहरूलाई पार्टीलाई एक बनाएर लैजान आग्रह गर्छु । आपसमा घात, अन्तर्घात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई । बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर लाग्नका लागि हार्दिक अनुरोध गर्दछु । भोलिका दिनमा पार्टीलाई मजबुत गराउनका लागि शुभकामना दिन चाहन्छु ।’
उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भई घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु आवश्यक रहेकोमा सभापति देउवाले जोड दिए ।