नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कांग्रेसले महिला सशक्तिकरणका पक्षमा निरन्तर काम गरिरहेको बताएकी छिन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसकी उम्मेदवार देउवाले चुनावी प्रचारप्रसारका क्रममा शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ को भगवतीटोलमा आयोजित सभामा महिलाको हक हितका लागि आफूले निरन्तर काम गर्दै आएको र पछिसम्म पनि त्यसका लागि लागि पर्ने बताइन्।
आमाको नामबाट नागरिकता, पैतृक सम्पत्तिमा महिलाको हक लगायत महिला अधिकारको संवैधानिक सुनिश्चितताका लागि कांग्रेसले निर्णायक भूमिका निर्वाह गरे उनले दाबी गरिन।
उनले पछिल्लो २० वर्षको अवधिमा सुदूरपश्चिममा आर्थिक विकासले गति लिएको चर्चा गर्दै भनिन्, ‘कांग्रेसका लागि अहिले आर्थिक समृद्धि र विकास नै मुख्य सवाल हो।’
उनले धनगढीमा सघन सहरी विकास कार्यक्रमसहित धेरै ठूला विकास आयोजना शुरु भइसकेको बताइन्। ‘कैलालीमा छिट्टै पोलिटेक्निक इन्स्टिच्युटको स्थापना हुदैछ’ उनले भनिन्।
यसैगरी धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडी, बसपार्क, वडा नम्बर २ को चर्च लगायतका स्थानमा भएका चुनावी सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार देउवाले अहिलेको चुनावलाई जनमत संग्रहका रूपमा लिएको बताइन्।
‘यो लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधीबीचको निर्वाचन हो,’ उनले भनिन्, ‘त्यसैले यो सामान्य निर्वाचन होइन, जनमत संग्रह हो।’
कार्यक्रममा प्रदेशसभा सदस्य (क्षेत्र नम्बर ख) का उम्मेदवार डिल्लीराज पन्त, उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, समानुपातिक उम्मेदवार विजया केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कांग्रेस नेतृ देउवाले राष्ट्रलाई समृद्धितर्फ डो¥याउन कांग्रेसको जीत आवश्यक रहेको बताएकी छिन्।
‘नेपाली कांग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ,’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ देउवाले भनिन्, ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर कांग्रेसले हार्नु हुदैन।’
उनले शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताइन्। ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहुच छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्।’ उनले शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको बताइन्।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु)ले शिक्षकहरूलाई आचारसंहिता विपरित कुनै काम नगरी आधुनिक प्रविधिको प्रयोग गरेर कांग्रेसलाई विजयी गराउन आग्रह गरे।