

काठमाडौं, २८ असार । स्वास्थ्य क्षेत्रका विविध मागहरु राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटार बाहिर प्रदर्शन मार्सी चामलसहित प्रदर्शन गरेका उनीहरुले बालुवाटारभित्र प्रधानमन्त्रीकालागि एक किलो चामल दिएका थिए । तर प्रधानमन्त्रीका प्रतिनिधिले चामल लिन नमानेको डा. केसीका समर्थकले बताएका छन् ।
यसैबीच डा. केसीको समर्थनमा नेशनल रेजिडेण्ड डक्टर्स एशोसिएसनले आन्दोलन सुरु गरेको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिद हुँदा समेत सरकारले माग पुरा गर्न पहल नगरेको भन्दै एशोशिएसनले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रदर्शन गरेको हो।
त्यसैगरी भोलि देखि देशभरका स्वास्थ्य संस्थामा इमर्जेन्सी बाहेकका सेवा ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले डा. केसीको सबै माग सम्बोधन गर्न नसकिने बताएका छन्।
अध्यक्ष दाहालले सार्वभौम संसदलाई ‘यो गर’ भनेर आदेश दिने अधिकार वरिष्ठ चिकित्सक केसीलाई नरहेको प्रतिक्रिया पनि दिए बिहिबार भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले वरिष्ठ चिकित्सक केसीको मागको सम्बन्धमा सार्वभौम संसदले आवश्यक निर्णय लिने पनि बताए।