काठमाडौं, २८ असार । हिजोदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले कतिपय वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छ । रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।
भक्तपुरको जगाती, बाराही ठाउँका वस्तीमा पानी पसेको छ । त्यसैगरी भूकम्प पीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेको छ । मध्यरातीदेखि यहाँका सयौं घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधे राधे र त्यसक्षेत्रका वस्तीका साथै भाटभटेनी सुपर मार्केटदेखि स्यामसुङ्ग कम्पनीसम्म पुरै डुबानमा परेको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कन हम्मेहम्मे परेको छ ।