गगन थापाको दाबी : मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता भएको पार्टी कांग्रेस हो

गगन थापाको दाबी : मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता भएको पार्टी कांग्रेस हो

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो दाबी गरे । उनले एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र नभएको महामन्त्री थापाले बताए ।

थापाले भने, ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’

चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन हुने थापाको दाबी

उनले २०८२ मा हुने पार्टीको महाधिवेशन अघि दुई वर्ष संगठन सुधारका कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘पार्टीको सदस्यताका लागि अनुदार नबनौँ । अरू पार्टीले फर्म भर्नासाथ सदस्यता दिन्छ,’ महामन्त्री थापाले भने, ‘क्रियाशील सदस्यता लिन तीन पुस्ते खुलाउनुपर्ने, कुर्नुपर्ने भन्यौँ भने अबको नौजवानले कांग्रेसको सदस्यता लिन कुर्लान् ?’

महामन्त्री थापाले कांग्रेस फेरि सरकारमा पुग्ने बताए । उनले भने, ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ उनले भने, ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’

मुलुकलाई निराशाबाट बाहिर निकाल्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने उनको भनाइ छ । आगामी चुनावअघि गठबन्धन नगर्ने महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन हुने महामन्त्री थापाले बताए ।