फाइनलकालागि इङ्ल्यान्ड र क्रोएसिया भिड्दैः कसले मार्ला बाजी ?

फाइनलकालागि इङ्ल्यान्ड र क्रोएसिया भिड्दैः कसले मार्ला बाजी ?

रुस, २७ असार । रुसमा जारी विश्वकप फुटबल २०१८ को दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ल्यान्ड र क्रोएसियाबीच भिडन्त हुदैछ । नेपाली समयअनुसार राती पौने १२ बजे सुरु हुने खेलमा दुवै टोली फाइनलको स्थान पक्का गर्नका लागि मैदानमा उत्रने छन्।

क्रोएसिया अहिलेसम्म विश्वकपको फाइनलमा पुग्‍न सकेको छैन भने २८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको इंग्ल्यान्ड विश्वकप उपाधी उचाल्ने यो अवसरलाई परिणाममा उतार्ने तयारीमा छ।
सन् १९६६ मा विश्वकप उपाधि उचालेको इंग्ल्यान्ड दोस्रोपटक विश्वकप जितेर घरेलु मैदानमा पहिलो पटक पाएको विजयीलाई रुसमा दोहोर्याउने दाउमा छ ।
इङ्ल्यान्ड र क्रोएसियाबीचको विजेताले जुलाई १५ तारिखमा उपाधिका लागि फ्रान्ससंग आमनेसामने हुनेछ। यसअघि हिजो राती भएको पहिलो सेमिफाइनलमा पुर्व विजेता फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको थियो।
आज बेलुकी रसियाको लुजिनिकी स्टेडियममा इंग्ल्यान्ड र क्रोएसियाका मिड्फिल्डरहरु बिच कडा प्रतिस्पर्धा हुनेमा कुनै शंका छैन तर इंग्ल्यान्डका प्रशिक्षक अझै खेल आफूहरुको नियन्त्रणमा रहनेमा विश्वस्त छन्।
इङ्ल्यान्डका कप्तान हेरि केन यो प्रतियोगितामा ६ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छन्। उनको निकटतम प्रतिद्धन्द्धीका रुपमा रहेका फ्रान्सका एन्टोइन ग्रिजम्यान र केइलिन एमबाप्पेको समान तीन गोल छ।

प्रतियोगितामा क्रोएसियाका गोलरक्षक डानियल सुबासिच टोलीका लागि नायक बनिरहेका छन्। उनले अघिल्ला दुवै खेलमा क्रोएसियाले टाइब्रेकरमा जित हात पार्दा निर्णायक प्रदर्शन गरेका थिए। उनले प्रतियोगितामा केवल तीन वटा मात्र गोल ब्यहोरेका छन्। इभान राकेटिच,लुका मोड्रिच, मारियो मान्जुकिच लगायत खेलाडी लयमा छन्।

इङ्ल्यान्डका हरेक खेलाडीले गोल गर्न सक्ने क्षमता देखाई सकेका छन्। रक्षकद्वय ह्यारी मिगुयर र जोन स्टोन्सले गोल गरिसकेका छन्। जेसि लिंगार्ड,डेले अली लगायतले पनि गोल गरेका छन्। इङ्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले जारी प्रतियोगितामा तीन गोलमात्र ब्यहोरेका छन्।