रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु, रसियाले पठायो यस्तो पत्र

रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु, रसियाले पठायो यस्तो पत्र

काठमाडौं । रुस युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका ति नेपालीको मृत्यु भएको रुस सरकारले पुष्टि गर्दै नेपाल सरकारलाई पत्र पठाएको हो । योसहित रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको आधिकारीक संख्या ३२ पुगेको छ ।

रुसले पठाएको पत्र अनुसार मृत्यु हुने नेपाली युवाहरु तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी रहेका छन् । त्यस्तै खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ रहेका छन् । रुसले उनीहरुका परिवारको डीएनए नमुना पठाइदिन मस्कोस्थित नेपाली दूतावासमा पत्र पठाएको हो ।

रुसी सेनामै रहेका केहि नेपाली युवाको भनाईमा मृत्यु हुने नेपालीको संख्या यो भन्दा धेरै छ । रुस सरकारले मृत्यु भएका नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन नेपाल सरकारलाई पत्राचार गरेको छ ।

नेपाल सरकारले रुसी सेनामा नेपाली युवाको भर्ती कार्य रोक्न रुस सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ । केहि दिन अघि युक्रेन सरकारले पनि नेपाललाई रुसी सेनामा नेपाली युवालाई भर्ती हुनबाट रोक्न पत्र पठाएको थियो ।

रुसी सेनामा भर्ती भएका पाँच नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा छन् । नेपालले पछिल्लो समय रुसी जान कडाइ गरेपनि दलालहरुले विभिन्न माध्यमबाट नेपाली युवालाई रुसी सेनामा भर्ती गराउने कार्य रोकेका छैनन् ।