काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण केही दिन नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने छ । आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै आजकै बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची राखिएको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ नदिएसम्म आज पनि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ ।
नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद् पुनर्गठन भएपछि कांग्रेसले सदन अवरुद्ध गर्दै आइरहेको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसले जनाएको छ ।