

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन्। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो। त्यही दिन कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।