प्रचण्डको जथाभावी र मनलाग्दी खर्च गर्ने प्रवृत्तिमा साथ नदिएकै हो : प्रवक्ता महत

प्रचण्डको जथाभावी र मनलाग्दी खर्च गर्ने प्रवृत्तिमा साथ नदिएकै हो : प्रवक्ता महत

काठमाडौं।निवर्तमान अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मलेन गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जति उपलब्धी हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको दाबी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेका डा. महतले तत्कालिन सत्ता गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै प्रचण्डको भनाईप्रति तीव्र असन्तुष्टि जनाए र प्रचण्डको दाबीको खण्डन गरे ।महतले आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको भन्दै पत्रकार सम्मेलनमा भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’

प्रचण्डले कांग्रेसका कारण उपलब्धी भएन भनेर भन्नु भ्रम छर्नु बाहेक केही नभएको डा. महतले बताए ।प्रचण्डको जथाभावी खर्च गर्ने प्रवृत्तिमा भने आफूले साथ नदिएको र मन्त्रीका रुपमा गरेको काममा गर्व गर्ने बताए । महतले भने, ‘नेपाली कांग्रेस र कांग्रेसका मन्त्रीहरुलाई मैले भनेको जस्तो उपलब्धी भएन भनेर दोषारोपण गर्न कदापि मिल्दैन ।’

सरकारले जति उपलब्धि हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको उनले दाबी गरे । उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारको प्रयासलाई आगाडि बजेटमा अझ गति दिने योजना थियो । यदि यो बाटो छोडेर हाम्रो साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ ।’

डा. महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए ।

उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्त्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ । प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृत्ति भएको उल्लेख गरे ।