प्रचण्डले आफ्नै भाइलाई बनाए राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

प्रचण्डले आफ्नै भाइलाई बनाए राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएका छन् । माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकबाट प्रचण्डले भाईलाई सत्ता गठबन्धनकोतर्फबाट राष्ट्रिय सभा अध्यक्षको उमेदवार बनाउने निर्णय गराएका हुन् ।

अध्यक्षमा माओवादीभित्र उर्मिला अर्याल र झक्कु सुवेदीले पनि आकांक्षा राखेका थिए तर अन्तिममा प्रधानमन्त्री प्रचण्डले आफ्नै भाइलाई उम्मेदवार बनाउने निर्णय गराए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रष्ट पारे ।

उनका अनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको थियो । उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रुपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरुको नाम पनि चर्चामा थियो । केही साथीहरुको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ३० गते विश्वासको मत लिने भन्नेकुरा भयो ।’ प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने पनि तयारी गरेका छन् ।