

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपाल हार बेहोर्न पुग्यो । नेपालको ९ विकेट क्याच र अन्तिम विकेट रनआउट भएको थियो ।
एक समय ११७-२ को स्थितिमा रहेको नेपालले २१ रनको अन्तरमा ८ विकेट गुमाएपछि हार बेहोर्यो । कुशल भुर्तेल २ रन जोडेर दोस्रो ओभरमै आउट भएपछि विनोद भण्डारी र रोहित पौडेलले साझेदारी गरे । ५२ रनको साझेदारी पूरा गरेपछि विनोद ४२ रनमा आउट भए । उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि रोहित र आरिफ शेखले ५७ रन बनाए । रोहित ११ औं ओभरमा ३० रन जोडेर आउट भए । उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा आरिफ पनि ३८ रन जोडेर पेभेलियन फर्किए । २१ बलमा ५ चौका र २ छक्का प्रहार गरेका उनी क्याच आउट भए । त्यसपछि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सन्दीप जोरा २, गुलशन झा ८, विवेक यादव १ र राशीद खान ३ रनमा आउट भए ।
हङकङका एजाज खानले ४ विकेट लिए । स्पिनर एहसान खानले ३ तथा अतिक इकबाल र नसरुल्लाह रानाले १-१ विकेट लिए । नेपालले अब आइतबार त्रिकोणात्मक सिरिज अन्तर्गत हङकङको सामना गर्नेछ । मंगलबार पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।
नेपालको प्लेइङ-११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, प्रतिश जिसी, राशीद खान, आकाश चन्द, सागर ढकाल