काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्ता गठबन्धनका बारेमा कडा टिप्पणी गरेकी छन्। उनले सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको बताएकी हुन् । शुक्रवार अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताइन्।
माओवादी भित्र प्रभावशाली नेतृ मानिने भुसालले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने खुलासा समेत गरिन्।
भुसालले भनिन, ‘नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पु¥याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो । ’
उनले थपिन्, ‘हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभुत गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभुतिहरु आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने संकल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न ।’ उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन्।