काठमाडौँ, २४ असार । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनलाई आइतबारै प्रहरीले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको छ ।
अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेका पौडेल यसअघि जिल्ला अदालत चितवनको ४ वैशाख २०७१ को आदेशअनुसार धरौटीमा रिहा भएका थिए ।
चितवन जिल्ला अदालतले पौडेललाई धरौटीमा रिहा गर्न दिएको आदेश र सो आदेशलाई सदर गर्नेसम्बन्धमा उच्च अदालत हेटौंडाले ३० असार २०७२ मा जारी गरेको आदेश मिलेको नदेखिँदा सर्वोच्च अदालतले ‘अन्यथा प्रमाणित नभएसम्म’ पौडेलको हकमा जारी भएको आदेश बदर गरेको थियो ।
सर्वोच्च अदालतले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै ६ पुस २०७२ मा पौडेललाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।
सर्वोच्चले जारी गरेको आदेश कार्यान्वयन नभएको भन्दै मृतक कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया गत जेठ १५ गतेदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् ।
छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनमा बसेकै बेला मृतक कृष्णप्रसादका पिता नन्दप्रसा अधिकारीको निधन भएको थियो ।
सर्वोच्चको सोही आदेशअनुसार थुनामा जान पाउँ भन्ने पत्रसहित ६८ वर्षीय पौडेल आइतवार अदालतमा उपस्थित भएका थिए । उपस्थित भएलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
सम्पत्ति फिर्ता हुनुपर्ने र हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री तथा मन्त्रीसमक्ष हारगुहार गरेका थिए । तर कसैले पनि वास्ता नगरेपछि आमरण अनशन बसेका थिए । अनशन बसेको ३ सय ३५ दिन चार वर्षअघि नन्दप्रसादको मृत्यु भएको थियो । त्यस क्रममा उनका जेठा छोराले हत्यारालाई कारबाही नभई बाबुको दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव शिक्षण अस्पतालमै राखिएको छ ।