काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब धोका दिन बाँकी रहेका कोही पनि नभएको बताएका छन्।
प्रतिनिधिसभा बैठकको बिहीबारको बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सबैलाई धोका दिँदै हिँडेको र कुनै दिन ती धोका खाएकाहरू मिले के होला भन्ने हेक्का राख्न चेतावनी पनि दिए।
उनले भने, ‘म त कुन निष्कर्षमा पुगेँ भने-अब धोका दिन कोही बाँकी रहेन। एकचोटी सोच्नु, सबै धोका पाएकाहरू एकदिन तपाईंका विरुद्धमा भने कहाँ पुग्नुहोलारु हेक्का राख्नूहोला, खाली ख्याल गर्नुहोला ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवित छँदासम्म उथलपुथल गर्छु भनेर भनेको कुराप्रति पनि उनले ध्यानाकर्षण गराए।
संसदमा प्रचण्डलाई व्यंग्य गर्दै लेखकले भने, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन ।’
एमालेका दस्तावेजहरुमा पनि माओवादीविरुद्ध लेखिएको भन्दै उनले ती दस्तावेजका अंश वाचन गरेर पनि सुनाएका थिए । एमालेको एउटा दस्तावेजमा ‘गएका ६ वर्षमा हामीमाथि पटक-पटक धोका भएको छ’ भन्ने शव्दावली सुनाउँदै लेखकले प्रश्न गरे, ‘यसलाई कसरी लिनु भएको हो ? अझ कसरी लिनु हुन्छ ?’
यही गतिमा हिँडे प्रचण्डले ५ वर्षमा १३ पटक गठबन्धन फेर्नुहुन्छ : लेखक
प्रधानमन्त्रीले पटक पटक गठबन्धन फेरेर राजनीतिक अस्थिरता निम्त्याएको लेखकले बताए ।
उनले एक वर्षमा दुई पटक गठबन्धन फेरेको भन्दै प्रधानमन्त्रीले ५ वर्षमा १३ पटकसम्म गठबन्धन फेर्न सक्ने बताए । ‘मैले क्याल्कुलेटरमा हिसाब गरेँ, गठबन्धन कति पटक फेरिने रहेछ भनेर । यही गतिमा प्रधानमन्त्री हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ’, उनले भने, ‘५ वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?’
प्रधानमन्त्रीले एउटा सम्बोधनमा जीवित छँदासम्म उथपुथल गर्छु भनेको स्मरण गर्दै उनले भने, ‘हजुर १०० वर्ष जीवित रहनुहोला, मेरो उमेर पनि हजुरलाई लागोस् । तपाई म भन्दा धेरै देशलाई चाहिने नेता हो ।’
केही दिनअघिको सम्बोधनमा प्रधानमन्त्रीले प्रतिक्रियावादीले उपयोग गर्न खोजे आफू लात्ताले हानेर हिँड्ने बताएका थिए । कांग्रेस नेता लेखकले प्रधानमन्त्रीको यो भनाए आपत्तिजनक भएको बताए ।
‘प्रधानमन्त्रीले कसलाई लात्ताले हान्ने, किन हान्ने ? यो मेरो दुर्भाग्य हो कि देशको दर्भाग्य हो ?’ उनले भने, ‘जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्न सिकाउनुहुन्छ । यो विषयमा भोलिका दिनमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’