‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि

‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि

भरतपुर। चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ।

आफूसहित अन्य दुईजना साथीहरू बस्ने कोठामा झुन्डिनुअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो।उनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी !’

शालीन अघिल्लो शनिबार बिहान १० बजेतिर कोठाको पंखामा स्काउटको डोरी लगाएर भुण्डिएको अवस्थामा भेटिएकी थिइन्।त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार नभएको पुष्टि भएको थियो।शालीनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैको उपस्थितिमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिका क्रममा शालीनलाई चितवनको होस्टेलमा राखेर काठमाडौंमा बस्दै आएका बाबु दीपेन्द्र पोखरेल उपस्थित थिए। त्यस्तै, दीपेन्द्रसँग सम्बन्धविच्छेदपछि पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी आमा सगुन पनि अन्त्येष्टिका क्रममा सहभागी थिइन्।