

रामेछाप । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले डा.गोविन्द केसीका मागलाई बेवास्ता गरिए खड्गप्रसाद ओली सरकारले निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । रामेछापको मन्थलीमा शनिबार बिहान नेपाल प्रेस युनियनद्वाराआयोजित साक्षात्कारमा देउवाले भने– डा. केसीका माग व्यक्तिगत नभएर जनताका माग हुन्, यी मागलाई बेवास्ता गरे ओली सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ ।
सभापति देउवाले केसीको सत्याग्रहमा सरकारले पु-याएको अवरोध अधिनायकवादको उदाहरण भएको बताउँदै भने– ‘घटनाप्रति शान्तिपूर्ण विरोध प्रदर्शन गर्नसमेत रोक लगाइनुले सरकार निरंकुश ढंगले अधिनायकवादको बाटोमा अग्रसर भएको पुष्टि गरेको छ ।’ भारत र चीनको भ्रमण असफल भएपछि तिलमिलाएर प्रधानमन्त्री ओलीले मुठभेडको बाटो रोजेको उल्लेख गर्दै देउवाले भने– ‘भारत र चीन पुगेर लम्पसार पर्दा पनि उनले नेपालको विकासका लागि सहयोग ल्याउन सकेनन्, उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै हो ।’
देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने प्रस्ट पारे । उनले अगाडि भने, ‘सरकार हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्ने हिसाबले उत्रिएको छ, यसको कांग्रेसले कडा प्रतिवाद गर्छ ।’ नेपाली कांग्रेसभित्र गुट अन्त्य गर्न आफू खटिरहेको उल्लेख गर्दै सभापति देउवाले भने– ‘अब कुनै गुट उपगुट हुने छैनन्, कांग्रेस एकढिक्का भएर अघि बढ्नेछ, कम्युनिस्टहरूसँग संयुक्त रूपमा प्रतिवादमा उत्रन्छ ।’