लोकतन्त्र सिध्याउने ध्येयले कम्युनिष्ट गठबन्धन : प्रधानमन्त्री देउवा

लोकतन्त्र सिध्याउने ध्येयले कम्युनिष्ट गठबन्धन : प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्ने उद्देश्यले कम्युनिष्ट गठबन्धन भएको बताउनुभएको छ ।

सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको लटिनाथमा शुक्रबार आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मिलेर बनेको गठबन्धन लोकतन्त्रमाथिको खतरा भएको बताउनुभयो ।

नेपाली कांग्रेस दार्चुलाद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगामी मंसिर १० र २१ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रजातन्त्रको भविष्यका लागि महत्वपूर्ण खुट्किलो भएको उल्लेख गर्नुभयो ।

उहाँले २००७ सालमा राणा शासनको अन्त्य गरी लोकतन्त्रको नयाँ बिहानी ल्याएको नेपाली कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको र जनताको अधिकार खोस्न नदिने पनि बताउनुभयो ।

लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको भन्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टको एकताले देशलाई अधिनायकवाद तर्फ लैजाने खतरा बढेकोमा सचेत गराउनुभयो । ‘कम्युनिष्टहरुले घुमाफिरा एकता गरेर जनतालाई धम्क्याउने, डराउने र त्रासमा राख्ने कोशिस गरिरहेका छन्’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

देशको विकास र समृद्धिका लागि काँग्रेसको विकल्प नभएको भन्दै उहाँले दार्चुलाबाट सबै नेपालीलाई नेपाली काँग्रेसका उम्मेदवारलाई अत्यधिक बुहमतले निर्वाचित गराएर लोकतन्त्रको रक्षा गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीले व्यास, अपि हिमाल, मार्मा र लेकम गाउपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने समेत बताउनुभयो ।

संबोधनको क्रममा उहाँले कञ्चनपुरको ब्रहमदेवमण्डिदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २ सय ९० किलोमिटरको महाकाली करीडोरलाई २ वर्ष भित्र पुरा गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

आमसभामा कांग्रेस केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडूले जित्दा मात्रै यो जिल्लाको विकास भएको प्रधानमन्त्री देउवाले जिल्लाबासीलाई स्मरण गराउनुभयो ।

केन्द्रीय सदस्य बडूको केन्द्रीय राजनीतिमा राम्रो पहुच भएको भन्दै प्रधानमन्त्री देउवाले दार्चुलाको समृद्धिका लागि कांग्रेसलाई भोट दिन मतदातासंग आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले भारतसँग सीमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजिवीमा पक्की पुल बनाउने प्रतिबद्धता पनि जनाउनुभयो  ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले मंसिर १० गते दार्चुला कांग्रेसको किल्ला हुने बताउनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये ५ स्थानीय तहमा जित हासिल गरेको भन्दै केन्द्रीय सदस्य बडूले कांग्रेसको जित सुनिश्चित भैइसकेको दावी गर्नुभयो ।