राष्ट्रिय सभाका २० सांसदको कार्यकाल आज सकिँदै, सोमबार नवनिर्वाचित सदस्यको सपथ

राष्ट्रिय सभाका २० सांसदको कार्यकाल आज सकिँदै, सोमबार नवनिर्वाचित सदस्यको सपथ

काठमाडौं । राष्ट्रिय सभाका २० सांसद आज ६ वर्षे कार्यकाल सकेर विदा हुँदैछन् । राष्ट्रपतिबाट निर्वाचित मनोनीत एकसहित २० सांसदको पदावधि आइतबार सकिन लागेको हो । २० सांसदको कार्यकाल सकिनैलाग्दा उनीहरुको रिक्त स्थानमा निर्वाचितमार्फत् नयाँ सदस्य चयन भइसकेका छन् । रिक्त १९ सदस्यका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो। राष्ट्रपतिबाट मनोनित हुन बाँकी एकबोहक १९ सदस्यको सोमबार सपथग्रहणको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।

६ वर्षे कार्यकाल सकेर विदाई हुनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २ र जसपाका एक रहेका छन् । त्यस्तै मनोनित एक र स्वतन्त्र एक सांसद रहेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि कार्यकाल सकिएको हो । एमालेबाट तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट बिदाइ हुँदैछन्।

यस्तै कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको ६ वर्षे कार्यकाल सकिन लागेको हो। माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा बिदाइ हुँदैछन्। जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ।