काठमाडाैं । मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि आजदेखि २०८१ पुष १६ गतेसम्म घर फिर्ती कार्यक्रम लागू गरेको हो ।
Migration Repatriation Programme अन्तर्गत बढीमा पाँच सय मलेसियन रिङ्गेट जरिवाना तिरेर घर फर्किन सक्ने मलेसिया सरकारले जनाएको छ । यो मौकाको फाइदा उठाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेकाको हकमा पाँच सय मलेसियन रिङ्गेट जरिवाना र भिषाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा तीन सय रिङ्गेट जरिवाना तिर्नुपर्ने दूतावासले जनाएको छ ।
अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहरीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी नदिएकाले घर फर्कन चाहने नेपाली आफैंले प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूतावासले जनाएको छ । वैधानिक कागजात नभएता पनि जरिवाना रकम तिरेर सहज रूपमा घर फर्कन पाउने दूतावासले जानकारी दिएको छ ।