प्रचण्डलाई माधव नेपालको सुझाव : सत्ता गठबन्धन भत्किन दिनु हुँदैन

प्रचण्डलाई माधव नेपालको सुझाव : सत्ता गठबन्धन भत्किन दिनु हुँदैन

काठमाडाैं । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको खुलेको छ । नेपाल प्रचण्डलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

त्यसक्रममा राष्ट्रियसभा अध्यक्षबारे सत्तारुढ दुई शीर्ष नेताहरूबीच छलफल भएको थियो । सो छलफलका क्रममा नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रचण्डसँग आग्रह गरे । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष दाबी गर्दै आएका छन् ।

यसै कारण गठबन्धनमा दरार आउने संकेत बुझेकाले नेपालले प्रचण्डलाई भेटेर सत्ता गठबन्धनलाई कायमै राख्न सुझाव दिएका हुन् । भेटमा अध्यक्ष प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र राष्ट्रियसभाको अध्यक्ष माओवादीले छोड्न नहुने दबाब आएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग नेकपा एसका अध्यक्ष नेपालले कांग्रेस-माओवादी जसले राष्ट्रिय सभा अध्यक्ष लिए पनि गठबन्धन नभत्किने गरी सहमति गर्नुपर्नेमा जोड दिएका थिए । नेपालले प्रचण्डलाई भने, ‘राष्ट्रिय सभाको अध्यक्ष तपाईँहरू जसले लिए पनि लिनुस्, तर गठबन्धन चैं भत्किनुभएन ।’