प्रचण्डले बुहारी र भाइलाई पद दिएको भन्दै माओवादी निर्णयमा जनार्दन शर्माको ‘नोट अफ डिसेन्ट’

प्रचण्डले बुहारी र भाइलाई पद दिएको भन्दै माओवादी निर्णयमा जनार्दन शर्माको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनादर्न शर्माले कार्यविभाजनमा लिखित असहमति राखेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको गरेको छ ।

शर्माले जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफू सहितका नेताहरुमा लागू गरेतापनि नारायण दाहाललाई बागमती प्रदेशको सह इन्चार्ज बनाएको भन्दै शर्माले निर्णयको उद्धेश्य के रहेको छ भन्ने स्पस्ट भएको बताएका छन् ।

साथै उनले जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था पार्टी अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न समेत गरेका छन् । उनले स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलका नेता र इन्चार्जबाट हटाएर अपमानित गरिएको शर्माको निष्कर्ष छ ।

भट्टलाई राजनीतिक रुपबाट विस्थापित गर्न खोजिएको भन्दै शर्माले भनेका छन्, ‘प्रदेशमा हाललाई बिना मगरलाई सह इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ ।’

नारायण पुष्पकमल दाहालका भाइ हुन् भने बीना प्रचण्डका दिवंगत छोरा प्रकाशका श्रीमती हुन् । हालै सम्पन्न विधान सम्मेलनमा पदाधिकारीहरु पनि अधिवेशनबाट चुनिनुपर्ने मत राखेका नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै शर्माले लिखित असहमति राखेका हुन् ।

विधान सम्मेलनमा राखेको एजेण्डका कारण आफूलाई जिम्मेवारी नलिनुलाई सामान्य मानेको भन्दै उनले लेखेका छन्, ‘ ‘उपर्युक्त मतप्रति सकरात्मक रहेकाहरुलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पस्ट हुन्छ ।’