आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि सात दिन छलफल हुने भएको छ ।

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्तावमाथि छलफल गर्न सभामुख देवराज घिमिरेले सात दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफल हुने जानकारी गराएका हुन् ।

दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक सुरु हुनुभन्दा एक घण्टा अगाडि नाम टिपाउन उनले भनेका छन् ।

साथै सभामुख घिमिरेले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थमन्त्रालय र संघीय संसद सचिवालयलाई पनि निर्देशन दिएका छन् ।