रुस, २३ असार । पाँच पटकको विश्व विजेता ब्राजिल रुसमा जारी २१ औं संस्करण २०१८ को दोस्रो क्वाटरफाइनलबाट अघि बढ्न सकेन । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको हो ।
बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोल गर्न पुगेका थिए । त्यस्तै ३१ औं मिनेटमा काउन्टरअट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्यो ।
बेल्जियमका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए । ब्राजिलका लागि परिवर्तित खेलाडी रेनाटो अगस्टोले फिलिप कौटिन्होको पासमा टोलीका लागि एक गोल फर्काए पनि सो पर्याप्त रहेन । बेल्जियनका किपर कोट्वाले पाउलिन्हो, नेइमार, मार्सेलो लगायतकाको शानदार प्रहार विफल पारिदिएका थिए ।अब सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्ने छ ।