महासमिति बैठकमा उपसभापति खड्काले पेश गरे नीति प्रस्ताव

महासमिति बैठकमा उपसभापति खड्काले पेश गरे नीति प्रस्ताव

काठमाडौँ ।नेपाली कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्।मंगलबार बिहान ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा खड्काले नीति प्रस्ताव पेश गरेका हुन्।

उनले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर उक्त नीति प्रस्तावलाई अन्तिम रूप दिएका थिए। ६५ पृष्ठको नीति प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए।महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेश हुनेछन्।खड्काले नीति प्रस्ताव पेश गरेसँगै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन्।

पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन्।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।