

काठमाडौं।देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस महासमितिको बैठकको तयारीमा छ । आउँदो फागुन ७ गते महासमिति बैठक सुरु हुदैंछ ।
महासमिति बैठकको संघारमा कांग्रेसभित्र हिन्दूराष्ट्रको बहस चर्किएको छ । कांग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको हो ।
शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बुझाए । केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दूराष्ट्रको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।
हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्य भण्डारी, दिलेन्द्र प्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, चम्पादेवी खड्का, प्रकाश रसाइली ‘स्नेही’, रंगमति शाही, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, विद्या तिमल्सिना, सीताकुमारी, सारदा पौडेल, नागिना यादव छन् । यस्तै, केन्द्रीय सदस्य सञ्जय गौतम, डा. डिला संग्रौला, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र नृपबहादुर बडले पनि हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका छन् । यस्तै, कांग्रेसका दुई प्रदेश सभापतिले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले हस्ताक्षर गरेका हुन् ।
हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा
शनिबार काठमाडौंको नयाँ बानेश्वरमा कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरिएको छ ।
सोमबारदेखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ।काठमाडौंमा शनिबार आयोजित कार्यक्रममार्फत् महाअभियानको औपचारिक रूपमा घोषणा भएको भन्दै कांग्रेस नेता भण्डारीले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरे।
९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको गम्भीर असहमति छ।
अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाएका थिए।