सरकार र अदालतको मिलोमतो रहेको काँग्रेस नेता काेइरालाकाे आरोप

सरकार र अदालतको मिलोमतो रहेको काँग्रेस नेता काेइरालाकाे आरोप

नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकार र अदालतकाबीचमा मिलोमतो भएको आरोप लगाउनु भएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गर्दै उहाँले कानुन हेरेर भन्दा पनि सरकारको चाहना हेरेर अदालतले काम गर्न थालेको आरोप लगाउनु भएको हो ।

अदालतकै आदेशमा कारावास भोगीरहेका बालकृष्ण ढुंगेललाई आम माफी नदिन माग गर्दै दर्ता भएको रिटमा सरकारले आम माफी नदिदा अदालत सम्म मौन बसेको कोईरालाले उदाहारण दिनुभयो ।

लामो समय कामचलाउन नेतृत्वको भरमा सर्वोच्च अदालत राख्नु अदालतलाई आफ्नो प्रभावमा पर्ने सरकारको नियत भएको उहाँले तर्क गर्नुभयो ।

काँग्रेस नेता कोईरालाले निर्वाचन आयोगसँग स्विकृत लिएर गरिएको नियुक्ति खारेज गर्नुलाई सरकारको अतिवादी व्यवहारको संज्ञा दिनुभयो ।
जथाभावी निषेधाज्ञा घोषणा गरेर सरकारले सर्वसत्तावाद तर्फ उन्मुख भएको संकेत गरेको बताउदै उहाँले शाहीकालका कमल थापा र अहिलेका राम बहादुर थापाका बीचमा भिन्नता नदेखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नु भयो, “त्यहीबेला पनि हामीले निषेधाज्ञा तोडेका थियौ, अहिले पनि तोड्छौं, विरोध गर्नै नपाईने व्यवस्था स्विकार्य हुदैन ।” अस्पताल भित्र अनसन गर्न हुदैन भन्नेमा आफु सहमत भएपनि डा गोविन्द केसीको अनसनप्रति सरकार अनुदार बनेको नेता कोईरालाले बताउनु भयो ।