

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको बताएका छन्।
शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि १६ बुँदे धारणा राख्दै कोइरालाले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको बताएका हुन्।‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’
केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र महामन्त्री द्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माको साङ्गठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बैठकमा प्रस्तावमा सुशासन र भ्रष्टाचार अन्त्यको बिषयलाई प्राथमिकतामा राखेपनि कार्ययोजनाका बारेमा प्रस्ताव प्रष्ट नरहेको उहाले बताउ । उनले कार्ययोजनाका साथ सुशासन र भ्रष्टाचार अन्त्यको प्रस्ताव आउनुपर्नेमा जोड दिए ।
बैठकमा प्रस्ताव प्रतिवेदन केन्द्रीय समितिले पारित गरेपछि महासमिति बैठकमा पेश हुनेछ । महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्दैछ ।