चालु आर्थिक वर्षको बजेट कटौती गरिएकाे छैन : अर्थमन्त्री महत

चालु आर्थिक वर्षको बजेट कटौती गरिएकाे छैन : अर्थमन्त्री महत

काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन्। शुक्रबार बजेट र समसामयिक बिषयमा पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले चालु आ.व.को बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने बताए ।

सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गर्दै समाचार छापेपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको मन्त्री महतले बताए ।पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।

आगामी आवको बजेट सिलिङ १८ खर्ब तोकियो

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा  अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका हुन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको मन्त्री महतले जानकारी दिए ।