काठमाडाैं । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्यको संख्या १ सय ९९ जनाको हुने भएको छ।काठमाडौँमा जारी विधान अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो घोषणा गरेका हुन्।अध्यक्ष दाहालले ११ जनाको केन्द्रीय कार्यालय बनाउने निर्णय भएको पनि बताए।
माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ जना छन् । केन्द्रीय कमिटीको आकार ठूलो भएको भन्दै चर्को आलोचना भइरहेको बेला विधान मस्यौदा कार्यदलले १५१ सदस्यको प्रस्ताव गरेको थियो ।
अध्यक्ष प्रचण्डले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संशोधित विधान प्रस्तुत गरेका छन् ।विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए ।
प्रचण्डद्वारा यही फागुन १ गते प्रस्तुत विधान मस्यौदामाथि २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने
प्रचण्डले अब पार्टी समिति खुल्ला निर्वाचनबाट आउने पनि बताएका छन्। खुल्ला निर्वाचनबाट आउने समितिले नेतृत्व चुन्ने भएको छ।
माओवादीले हाल रहेका जिल्ला समन्यव समितिलाई प्रदेशबाट अधिकार थप्ने निर्णय पनि गरेको छ।माओवादीले यसअघि पालिकास्तरीय समितिलाई अधिकार दिएको थियो।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाए । स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने प्रचण्डले निष्कर्ष सुनाएका एक नेताले जानकारी दिए । तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुने उनले बताए ।