नेपालमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन, १ सय ५० विश्वविद्यालयका उपकुलपति सहभागी

नेपालमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन, १ सय ५० विश्वविद्यालयका उपकुलपति सहभागी

धुलिखेल । नेपालमा आज बिहीबार देखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ । काभ्रेपलान्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मुख्य परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको हो ।

उक्त सम्मेलनमा नेपाल भारतसहित विभिन्न देशका विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको छ । १ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्हरू लगायत गरेर २ सय ३७ जनाको सहभागिता रहेको बताइएको छ ।

विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल–विषय रहेको उक्त सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछ ।

सम्मेलनमा दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका सहभागिता रहनेछन् । भारतीय विश्वविद्यालय संघको आयोजनामा भएको उक्त सम्मेलन शनिवारसम्म चल्नेछ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरेका छन् । कार्यक्रमको समाप्ति मन्तव्य भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्नेछन् ।