

रुस, २२ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पाँच पटकको विश्वविजेता ब्राजिलले बेल्जियमको सामना गर्दैछ । दक्षिण अमेरिकी देश ब्राजिल र युरोपेली प्रतिस्पर्धी बेल्जियमबिचको खेल प्रतिस्पर्धात्मक हुने विश्लेषण गरिएको छ । आज राति पौने १२ बजे सेमिफाइनल प्रवेशका लागि रुसको काजान एरिनामा ब्राजिल र बेल्जियम आमने सामने हुँदैछन् । पाँच पटकको विश्वविजेता ब्राजिल नेइमारको साथमा छ भने इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्दैछन् ।
ब्राजिलसँग नेइमार, गाव्रियल जेसस, फिलिप काउटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो शिल्भा लगायका विश्वस्तरीय खेलाडीले भरिएको सशक्त टिम छ । उता हाजार्डका अलावा रोमेलु लुकाकु, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिजस्टार स्टार खेलाडी रहेको ‘डार्क हर्स’ बेल्जियम पनि कम आँक्न मिल्ने अवस्थामा छैन ।
ब्राजिल र बेल्जियमबिच अहिलेसम्म चार पटक भेट भएको छ । सन् १९६३ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भएको थियो । तर त्यसपछिका तीन खेलमा ब्राजिल विजयी भएको छ । विश्वकपमा भने यो दोस्रो भेट हो ।
सन् २००२ को विश्वकप फुटबलको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो । त्यो खेलमा दोस्रो हाफमा रिभाल्डो र रोनाल्डोले गोल गरेर जित दिलाए । ब्राजिल लगातार सातौँपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । यसअघि दुईपटक मात्रै यो चरणमा पराजित भएको छ । सन् २००६ र २०१० मा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो ।